बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिहानैदेखि बाक्लो हुस्सु, चिसो बढ्दा जनजीवन प्रभावित


१० माघ २०८०, बुधबार


काठमाडौँ । बाक्लो हुस्सु लागेर चिसो बढेपछि पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ । अधिकांश भूभागमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

केही दिन अघिसम्म बिहान हुस्सु लागे पनि दिउँसो सामान्य घमाइलो हुने गरेको थियो । तर पछिल्ला दिन बिहानदेखि दिनैभरि हुस्सु लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो । चिसो धेरै बढेपछि सार्वजनिक स्थानहरूमा सर्वसाधारणको चहलपहल सामान्यभन्दा कम देखिएको छ । विराटनगर र आसपासको तापक्रम न्यूनतम ८ डिग्री सेल्सियसभन्दा कम मापन गरिएको छ ।

चिसोका कारण झापा, मोरङ, सुनसरीमा जनजीवन प्रभावित बनेको हो । चिसो बढ्दा खासगरी वृद्धवृद्धाहरु बढी समस्यामा परेका छन् । चिसोका कारण बिरामी हुनेहरु विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने गरेका छन् ।

गत साता पनि एक्कासि चिसो बढेको थियो । चिसो बढेपछि अधिकांश स्थानमा विद्यालयहरुमा विदा दिइएको थियो । त्यसपछि केही दिन घाम लाग्ने गरे पनि फेरि हुस्सु लाग्न थालेर चिसो बढ्न थालेको हो । प्रतिकूल मौसममा कारण विराटनगरबाट हुने हवाई उडानहरु पनि प्रभावित बनेका छन् । विराटनगर विमानस्थलबाट दिउँसोसम्म कुनै पनि उडान हुन सकेको छैन ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आजे देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थान तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस