सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको नि:शुल्क स्वास्थ्य बीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको नि:शुल्क स्वास्थ्य बीमा


१ माघ २०८०, सोमबार


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको नि:शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न नि:शुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो ।  

चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगर सभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अति विपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ छ । 

‘बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको नि:शुल्क स्वास्थ्य बीमा गरिदिँदा उपचारमा सहयोग पुग्छ’, उनले भने, ‘सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ ।’

नगरपालिकाले यसका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको नगर प्रमुख खाणले बताए ।

नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अति विपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम रु तीन हजार पाँच सय बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म रु एकलाख बराबरको उपचार खर्च गर्न पाउने छन् । पाँच जनाभन्दा बढी जनाको सङ्ख्या भए पालिकाले प्रतिव्यक्ति रु सात सय थप गरिदिने भएको छ ।

शिक्षा शाखा प्रमुख बन्दना गुरुङका अनुसार चापाकोट नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१–८)का पाँच, आधारभूत  (१–५) का  १४ र आधारभूत(१–३) का १० विद्यालय रहेका छन् । हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेका तथ्याङ्क छ । 

Tags :
प्रतिक्रिया दिनुहोस