झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झापा र मोरङका वनमा छावा हुर्काउँदै जङ्गली हात्ती


२८ पुस २०८०, शनिबार


झापा । जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् ।

त्यसैले उनीहरूको समीप जान हुँदैन । झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका- दुई सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

“पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मङ्सिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उनले भने, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हूल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ उतैतिर हात्तीको बथान गइरहेको छ ।” छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने उनले बताए ।

बस्तीतिर छावासँगै हात्तीको हूल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ । मोरङको बेलबारी र पथरी नजिक बेतना सिमसार रहेको वन क्षेत्रमा पनि हात्तीले छावा जन्माएको छ । स्थानीयवासीले हात्तीको नवजात छावा देखेर वन कार्यालयमा जानकारी दिएका छन् ।

वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जङ्गलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गरे । उनले भने, “कोशी टप्पु वन्यजन्तु आरक्षका प्राविधिकहरुले जङ्गलभित्र हात्तीको बच्चा देखे ।” मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको उनले बताए ।

हात्ती संरक्षणमा सक्रिय अभियन्ता शङ्कर लुइँटेलले झापाको जङ्गलमा विगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताए । उनले २०६४ सालमा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा जङ्गली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफूले देखेको बताए ।

झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूखबिरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जङ्गल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउँछन् । प्रजननका लागि रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्दछ । अहिले छावा जन्मिएको झापाको सुकेडाँगी वन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त रहेको छ । जलथल जङ्गल पनि हात्तीको प्रजननका लागि उपयुक्त मानिन्छ । 

वन डिभिजन कार्यालय प्रमुख राईका अनुसार गत कात्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ वटा हात्तीमध्ये २७ वटा यसैसाता भारत फर्किएका छन् । झापाको जङ्गलमा ३० वटा हात्ती रहेका छन् । भारतको आसामबाट नेपालको कोशी टप्पुसम्म जङ्गली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ ।

भारतमा बाक्लो जङ्गल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको लगभग एक सयको बथान बेलाबेला नेपाल आउने गरेको छ । विगतमा बढीमा १५ दिन डुलेपछि फर्किने गरेका हात्ती यसपाली अढाइ महिनादेखि नेपालभित्रै रमाइरहेका छन् ।

झापा, मोरङ र सुनसरीमा यिनै हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको छ ।  वन डिभिजन कार्यालयका प्रमुख घिमिरेले बेलबारी, पथरी र केराबारीस्थित चारकोशे वन क्षेत्रमा डुलिरहेका नौ वटा हात्तीको एउटा बथान भारततिरै फर्किएको सूचना पाएको बताए ।

हात्ती फर्किएको वा नफर्किएको भन्ने जानकारीका लागि वन कार्यालयले स्थानीयवासीले दिने सूचनालाई आधार मान्ने गरेको छ । हात्ती संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बाहुनडाँगी क्षेत्रबाट चाहिँ हात्ती फर्किएको जानकारी नपाएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस