कोशी सभामुखबारे लिङ्देनले भने-पार्टीमा दुई तर्क आइरहेको छ, केन्द्रीय समितिमा छलफल हुन्छ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी सभामुखबारे लिङ्देनले भने-पार्टीमा दुई तर्क आइरहेको छ, केन्द्रीय समितिमा छलफल हुन्छ 


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले अहिलेको अवस्थामा सभामुख लिन हुन्छ कि हुन्न भनेर पार्टीभित्र दुई तर्क आइरहेको बताएका छन्।

कोशीमा सभामुख लिन अहिले हतार गर्न हुन्न भन्नेमा केन्द्रीय पदाधिकारीको सहमति भएका बेला प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि उनले बताए।

‘कोशीमा मात्र सभामुखमा हामी सहभागी भएको होइन। योभन्दा अघि बागमती र लुम्बिनीमा उपसभामुखमा हाम्रो सहभागिता छ, यो नौलो कुरा भएन,’ पृथ्वी जयन्तीका अवसरमा भृकुटीमण्डपमा भएको जलपान समारोहमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले भने, ‘परिवर्तित सन्दर्भमा अहिले कोशीमा सभामुख लिने कि नलिने छलफलकै विषय थियो। हतार गर्न हुन्न भन्ने हाम्रो सहमति थियो। म देश बाहिर भएका बेला कोशीका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो।’

यो विषयमा पार्टीभित्र फरक-फरक मत देखिएको उनले बताए।

‘एकथरि साथीहरूले चर्को स्वरमा कोशीमा सभामुखमा सहभागी हुन हुँदैनथ्यो, तुरुन्त फिर्ता हुनुपर्छ भन्ने छ,’ लिङ्देनले भने, ‘अर्कोतर्फ साथीहरूको के तर्क छ भने कोशीमा मात्र होइन अन्यत्र पनि सहभागी छौँ भन्ने छ। कुनै सर्तमा हामी सभामुख लिएको होइन। सांसद हुने सभामुख लिन नहुने भन्ने पनि छ। केन्द्रीय समिति बैठकले यस विषयमा उचित निर्णय गर्छ।’

उनले फागुनदेखि देखिने गरी आन्दोलन गरिने पनि बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस