गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ


२६ पुस २०८०, बिहिबार


चितवन । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गणेश कुमाल, चक्का जेठा, सोनामसिं वाइबा र मुक्तलाल पुनमगर रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २०७७ कात्तिक २० गते भुसारघाट पारिपट्टि आइल्याण्ड क्षेत्रमा एकसिङ्गे गैँडालाई गोली हानी मारेर खाग तस्करी गरेको आरोपमा यही पुस २१ गते कुमाललाई भरतपुर महानगरपालिका-२४ मचानबाट पक्राउ गरेको हो । सो मुद्दामा उनीसहित २४ जना प्रतिवादी रहेका थिए ।

यस्तै २०६३ साउन २८ गते सिमलगैहरी क्षेत्रमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा वाइबालाई पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । उनका अनुसार सो मुद्दामा १४ जना प्रतिवादीमध्ये वाइबालाई यही पुस २४ गते इच्छाकामना गाउँपालिका-७ भालुमाराबाट पक्राउ गरिएको हो । उनी १७ वर्षदेखि फरार थिए ।

यस्तै निकुञ्ज र निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोलीले २०६० माघ २० गते नन्दनताल क्षेत्रमा गैँडा मारी खाग तस्करी गरेको आरोपमा १३ वर्षदेखि फरार रहेका जेठा र पुनमगरलाई पक्राउ गरिएको हो । दुवै जनालाई यही पुस २४ गते राप्ती नगरपालिका-११ सिमलटाडीबाट पक्राउ गरिएको हो । उनीहरूलाई जिल्ला अदालत चितवनले १५ वर्ष कैद तथा रु. एक लाख जरिवाना तोकेको थियो । सो मुद्दामा चार जना प्रतिवादी रहेका थिए । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतलाई बुझाइएको सूचना अधिकारी तिवारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस