नेपालगञ्ज नगरपालिकामा इ-रिक्सा नष्ट « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नेपालगञ्ज नगरपालिकामा इ-रिक्सा नष्ट


२५ पुस २०८०, बुधबार


खजुरा । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रूपमा सञ्चालित ई-रिक्सा नष्ट गर्न थालेको छ । लामो समयदेखि ई-रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई-रिक्सा नष्ट गर्न थालेको हो ।

गत मङ्सिर १९ गतेदेखि अवैध रूपमा सञ्चालित ई-रिक्सा नियन्त्रण अभियान थालेको उपमहानगरपालिकाले मङ्गलवार पाँच ई-रिक्सा नष्ट गरेको छ । आवश्यक कागजात नभएका ती ई-रिक्सा प्राविधिक जाँच गरी स्काभेटरले तोडफोड गरी नष्ट गरिएको हो ।
यातायात कार्यालय बाँकेका मेकानिकल सुपरभाइजर सुशील शर्माले ई-रिक्सा धनी तथा चालककै रहोवरमा कागजात अद्यावधिक भए/नभएका, चेसिज नम्बर मिले÷नमिलेको वा भए/नभएको प्राविधिक जाँच गरेका थिए । उपमहानगरपालिकाले ई-रिक्सा नियन्त्रण गर्नुअघि पटक-पटक प्रक्रिया पुर्‍याउन आग्रह गरेको थियो । नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर ई-रिक्साका कागजपत्र अद्यावधिक गर्न समय दिइएको थियो ।

नगर प्रमुख प्रशान्त विष्टले नगरमा अवैध रूपमा सञ्चालित ई-रिक्सा पूर्णरूपमा सञ्चालनमा प्रतिबन्ध लगाउने अभियानमा उपमहानगरपालिका दृढ भएर लागेको बताए । “हामीले पटक-पटक भनेको हौँ, अद्यावधिक गर्न समय पनि दिएका थियौँ, नियन्त्रणमा लिइएका धेरै ई-रिक्साले आवश्यक कागजात अद्यावधिक गरेपछि हामीले छाडेका छौँ, अवैध सञ्चालित ई-रिक्सा हामीले नष्ट गर्न सुरु गरेका छौँ”, नगर प्रमुख विष्टले भने, “अब हामी निरन्तर अगाडी बढ्छौँ, नीति नियम र कानुन भन्दा बाहिर गएर चल्ने छुट कसैलाई छैन ।”

उपमहानगरपालिकाले हालसम्म छ सय २३ ई-रिक्सा नियन्त्रण लिएको छ । तीमध्ये आवश्यक कागजात र प्रक्रिया पुर्‍याएपछि पाँच सय ३८ ई-रिक्सा फिर्ता भएका छन् । अझै पनि ८५ ई-रिक्सा नियन्त्रणमै छन् । ती ई-रिक्सामाथि पनि छानविन भइरहेको नगर प्रहरी प्रमुख बोगटीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस