म्याग्दीका किसान  आलु खेतीतर्फ आकर्षित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

म्याग्दीका किसान  आलु खेतीतर्फ आकर्षित


२० पुस २०८०, शुक्रबार


गलेश्वर (म्याग्दी)।  म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ६ दरवाङ,७  विम, मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत धौलागिरि गाउँपालिकाको अधिकांश वडाका कृषक परम्परागत अन्नबाली छोडेर आलु खेतीतिर लागेका स्थानीय गाउँपालिकाका कृषि प्राविधिकको भनाइरहेको छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीको रूपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताए । 

उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकर्षित भएका मालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । आलु जति फलाए पनि बिक्रीका लागि चिन्ता नभएको उनले बताए । आलु फलाएपछि  मौसमीभन्दा बेमौसमीमा यसको भाउ धेरै पाइने मालिका-२ रुमका किसान टेकबहादुर विकले बताए । 

म्याग्दीमा आलु मौसमको प्रतिकिलो रु ६० देखि ९० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु एक सयदेखि एक सय ४० सम्ममा बिक्री गर्न सकिने किसान बताउँछन् । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका र कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको यहाँका किसानको भनाइ रहेको छ ।

आलुमा देखियो डडुवा रोग

म्याग्दीमा आलु खेतीमा डडुवाको रोगको समस्या फैलिएको छ । यहाँका अधिकांश क्षेत्रमा लगाइएको आलुमा डडुवाको समस्या देखिएको हो । डडुवाले किसानको आलु सखाप भएपछि अहिले किसान चिन्तित छन् । कात्तिक महिनामा लगाइएको आलुमा पुस महिनामै डडुवा लागेर सखाप भएपछि आलु उत्पादन घट्ने भएको छ ।

व्यावसायिक रूपमा आलु खेती गर्दै आएका बेनी नगरपालिका, मालिका र रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् । अधिकांश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । चिसो मौसम सुरुआत भएपछि किसानले आलु खेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलु खेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।  रघुगङ्गा-६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि  डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान दलबहादुर छन्त्यालले बताए । 

खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीपातीको रेखदेख गर्ने गरेमा आलुलाई रोक किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ रहेको छ । म्याग्दीमा व्यावसायिक रूपमा एक सय  हेक्टर बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । आलु सुपरजोन, स्थानीय पालिका र किसानको साझेदारी बिउँमा अनुदान पाई किसानले करिव एक हजार कुन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

पछौटे डडुवा आलुबालिमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधिक बानियाँले बताए । उनका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढी रहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छ भने तराईका जिल्लामा महामारीको रूपमा फैली सकेको छ ।

यसको लक्षण सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताए । अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भई रह्यो भने पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उनले बताए । 

फाइटफथोरा इन्फेस्टेन्स नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् । यस रोगको अनुकूल विकासको लागि वायुमण्डलको सापेक्षिक आर्द्रता ८० दशमलव ९५५ र रातिको तापक्रम १० दशमलव १२ डिग्रसेल्सिय लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ र माटोको माध्यमबाट यो रोग देखा पर्ने विशेषज्ञको भनाइ छ ।

यो रोगको व्यवस्थापन गर्नका लागि म्यान्कोजेब वा बेभिस्टिन २ ग्राम १ लिटर पानीमा हालेर आधा घण्टासम्म बीउलाई भिजाएर छायाँमा सुकाएर रोप्ने र ट्राइकोड्रामा आधा र ५० किलो कम्पोस्टमा मिसाएर दुई-तीन रोपनीमा मिलाएर खेत जोतेर मौसम प्रतिकूल हुने सङ्केत देखिने बित्तिकै कपरअक्सिक्लोराइड दुई ग्राम एक लिटर पानीमा हालेर छर्ने तथा रोग लागेका बोट तुरुन्तै हटाइदिने सुझाव कृषि विशेषज्ञको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस