युक्रेन र रसियाका लागि श्रम स्वीकृति दिन रोक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युक्रेन र रसियाका लागि श्रम स्वीकृति दिन रोक


१९ पुस २०८०, बिहिबार


काठमाडौँ । सरकारले युद्धग्रस्त मुलुकहरू युक्रेन र रसियामा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले दुवै देशमा व्यक्तिगत तथा संस्थागत रूपमा श्रम स्वीकृति दिन रोक लगाएको हो ।

विभागले एक सूचना जारी गर्दै नेपाली नागरिकहरू रसिया जाँदा हुनसक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गर्दै हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको विभागले जनाएको छ ।

रसिया–युक्रेनबिच युद्ध चलिरहेको बेला धेरै नेपालीहरू रुसी सेनामा भर्ना भइरहेका छन् । युद्धको क्रममा रुसी सेनामा कार्यरत १० जना नेपालीले ज्यान गुमाइसकेका छन् । केही नेपाली घाइते भएका छन् । भने केही सम्पर्कविहीन बनेका छन् । यस्तो अवस्थामा आफ्ना नागरिकको सुरक्षा तथा थप क्षति हुन नदिन श्रम स्वीकृति दिन रोक लगाइएको विभागले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले यसअघि रुस जानेको हकमा कन्सुलर सेवा विभागबाट एनओसी अनिवार्य गराएको थियो । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार मंसिर महिनामा मात्रै व्यक्तिगत श्रम स्वीकृति लिएर १ जना महिलासहित ३५ जना नेपाली रुस गएका थिए । त्यो भन्दा अघि कार्त्तिकमा ४२ जना, असोजमा ४१ जना व्यक्तिगत श्रम स्वीकृति लिएर रुस पुगेका थिए । गत आर्थिक वर्ष २०७९र०८० मा मात्रै २९२ जना नेपालीले श्रम स्वीकृति लिएर रूप पुगेका थिए । सरकारले युक्रेनमा भने गत वर्षदेखि नै श्रम स्वीकृति दिन बन्द गराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस