बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति (पत्रसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालकुमारी घटनामा मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति (पत्रसहित)


१६ पुस २०८०, सोमबार


काठमाडौँ । सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ ।

सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १-१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउन सरकार सहमत भएको छ । परिवारका सदस्यहरूसँगको सल्लाहमा यस्तो रोजगारी दिने सहमति पत्रमा उल्लेख छ ।

सरकारले उपलब्ध गराउने १० लाख रुपैयाँको राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ । मृतक वीरेन्द्र शाह र सुजन रावतलाई शहीद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने पनि सहमति पत्रमा उल्लेख छ ।

मृतकका परिवारले सोमबार नै शव बुझ्ने र शबलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले नै गर्ने सहमति भएको छ । सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा सांसदहरूको रोहबरमा सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतकको परिवारका तर्फबाट वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह, सुजनका मामा टेकबहादुर कटुवालले सहमपित्रमा हस्ताक्षर गरेका छन् ।

१३ पुसमा ललितपुरको बालकुमारी स्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

सरकारले घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ । मृतकका परिवारका सदस्यलाई प्रति परिवार दश लाख रुपैयाँ दिने निर्णय पनि गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस