‘भ्रष्टाचारी मन्त्रीले कर्मचारीको जिम्मेवारी खोसेर बलिको बोका बनाए’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘भ्रष्टाचारी मन्त्रीले कर्मचारीको जिम्मेवारी खोसेर बलिको बोका बनाए’


१६ पुस २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा जनताको आक्रोशलाई मत्थर पार्न गृह प्रशासनले तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास गरेको आरोप लाएका छन् । 

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले प्रहरी परिचालनमै गृहबाट कमजोरी भएकोले उक्त घटनामा आफ्नो गल्तीलाई ढाकछोप गर्न तल्लो तहका कर्मचारीलाई बलिको बोका बनाउन नहुने उनको भनाई छ । पन्तले भने, ‘जनपथ प्रहरी र गृह प्रशासन पनि यो घटनामा चुकेको देखियो । जनताको आक्रोश मत्थर पार्ने कामका लागि सिडियोलाई तान्ने आयोग बनाउने गर्नुभयो त्यो आफ्नो ठाउँमा ठिक होला तर, आफू जनताको आक्रोशबाट बच्नका लागि तलका कर्मचारीहरूलाई बलिको बोका बनाउन पाईंदैन ।’

उनले भ्रष्टाचारीलाई क्याविनेटमा राखेर प्रधानमन्त्रीले सुशासनको भाषण गरेको भन्दै सरकारको आफ्नै भनाई र गराई मै फरक भएको उल्लेख मात्र गरेनन्, बालकुमारी घटनाको परिस्थिति उत्पन्न हुनुमै पूर्ण रूपमा श्रम मन्त्रालय जिम्मेवार रहेको बताए ।

प्रमाण दिँदै पन्तले भने, ‘तपाईँको श्रम मन्त्रीले सात सय रुपैयाँ पर्ने अभिमुखीकरण तालिमको प्रमाणपत्र लिनलाई एकलौटी निर्णय गरेर तीन गुणा मूल्य बढाएर २८ सय पुर्‍याए । एजेन्सीले एकमुष्ट पैसा उठाए,त्यो निर्देशिका परिवर्तन गर्न पनि रोजगार बोर्डको जुन बैठक बस्नुपर्ने हो बैठक नै बसेको छैन ।

श्रममन्त्रीले एकलौटी निर्णय गरेर लुकाएर राखेका छन् । त्यस्तो निर्णय लागू भइरहेको छ । त्यसैले अस्तिको स्थिति उत्पन्न हुनुमा तपाईँको श्रम मन्त्री पूर्ण रूपमा जिम्मेवार छन् । देशको प्रत्येक परिवार कुनै न कुनै रूपमा जोडिएको श्रम मन्त्रालयमा भ्रष्टाचार हुने र जिम्मेवारी पूरा नगरेपछि जनताको आक्रोश बढ्छ कि बढ्दैन ?’

Tags :
प्रतिक्रिया दिनुहोस