बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन


१६ पुस २०८०, सोमबार


काठमाडौँ । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिनका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो ।

पूर्व एआईजी अरुण बिसी र गृहका सहसचिव नारायण प्रसाद भट्टराई आयोगमा सदस्य रहेका छन् । बालकुमारी घटनामा भएको मानवीय र अन्य क्षतिको विवरण अध्ययन गर्ने जिम्मेवारी आयोगलाई दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

घटनामा भएका कमीकमजोरीहरूको अध्ययन र घटनासँग सम्बन्धित व्यक्ति तथा निकायहरूको भूमिकाको अध्ययन गरी आयोगले प्रतिवेदन बुझाउने छ ।

एक महिनाको समय दिइएको आयोगलाई घटनामा जो दोषी देखिए पनि कारबाहीका लागि सिफारिस गर्न कार्यादेश दिइएको छ । यसअघि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन भइसकेको छ ।

शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोलीसमेत चलाएको थियो। उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।

सरकारले यसअघि मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत घोषणा गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस