एकीकृत समाजवादीले भन्यो-सरकारको काम सन्तोषजनक छैन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एकीकृत समाजवादीले भन्यो-सरकारको काम सन्तोषजनक छैन


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ । ललितपुरमा शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकले परिणाममुखी कार्य गर्न पनि सरकारलाई अग्रसर हुन आग्रहसमेत गरेको छ ।

प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले सरकारलाई देश र जनताको पक्षमा परिणाममुखी काम गर्नका लागि अग्रसर हुन आग्रह गरेको बताए । बैठकले सहकारी क्षेत्रमा देखिएको गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कानुनी कारबाही गर्नसमेत माग गरेको छ ।

उनले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको र बचतकर्ताको निक्षेपको अपचलन गरी जनताको ठूलो धनराशी आर्थिक तथा वित्तीय अपराध गरेकोमा सरकार गम्भीर हुनुपर्ने बताए ।

बैठकले पार्टीको विधानमाथि छलफल गर्दै सुझावहरू सङ्कलन गरेको र ती सुझावसहितको विधान आगामी केन्द्रीय परिषद् बैठकमा प्रस्तुत गरिने उनले बताए । नेताहरुले विधानमा उमेर हदको व्यवस्था गर्न नहुने, सचिवालय खारेज गरेर स्थायी कमिटी मात्रै सक्रिय बनाउनुपर्ने, पार्टीका सङ्गठनमा ४० प्रतिशत युवा सहभागिता गराउनुपर्ने लगायत नयाँ व्यवस्थाहरू विधानमा समावेश गर्न सुझाव दिएका छन् ।

एकीकृत समाजवादीले विधानलाई अन्तिम रूप दिन आगामी माघ १४ र १५ गते केन्द्रीय परिषद् बैठक बोलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस