‘फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ’


१३ पुस २०८०, शुक्रबार


sudurpashchin-krishi-mantri-rameswor-chaudhari

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले सक्कली किसान छुट्ट्याउन गाह्रो हुने गरेको बताएका छन् ।

शुक्रबार प्रदेश सभाको सामाजिक विकास समितिसँगको छलफलमा मन्त्री चौधरीले वास्तविक किसान पत्ता लगाउन गाह्रो भएको बताएका हुन् । सामाजिक विकास समितिको बैठकमा छलफलका लागि बोलाइएका मन्त्री चौधरीले प्रदेश सभा सदस्य धर्मराज पाठकले अनुदान वितरणमा वास्तविक किसान नसमेटिने गरेको गुनासो आएको बताएका थिए ।

पाठकले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले वास्तविक र नक्कली किसान छुट्याउन समस्या हुने गरेको सुनाएका हुन् । ‘अनुगमन गर्न जाँदा कहाँ कहाँबाट बाख्रा खोजेर खोरमा राख्छ कहाँबाट भैँसी खोजेर गोठमा बाँध्छ, अनुदान लिइसकेपछि सबै खाली हुन्छ,’ चौधरीले भने, ‘एउटै घरबाट पाँच वटा कृषि फार्म दर्ता भएको छ । फार्म फरक पारी एकै व्यक्तिले हरेक वर्ष अनुदान लिइरहेको पाइएको छ । ‘

छलफलका क्रममा कृषि राज्यमन्त्री कैलाश चौधरीले एकै आर्थिक वर्षमा एकै व्यक्तिले फरक फरक फर्म प्रयोग गरी तीन पटकसम्म अनुदान लिएको भेटिएको बताए ।चौधरीले अनुदानमा भइरहेको दुरुपयोग रोक्न उत्पादनमा आधारित अनुदान दिने र किसान कार्ड लागु गर्ने सोचाइमा आफू रहेको बताए ।

शुक्रबार सामाजिक विकास समितिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, राज्यमन्त्री र मन्त्रालयका सचिव डा। मदन सिंह धामीलाई बोलाएर कृषि मन्त्रालयबाट सम्पादन भएका कामको प्रगति विवरणमाथि छलफल गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस