मन्त्री किरातीले भने-अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्दैन, विकल्प खोजौँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्री किरातीले भने-अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्दैन, विकल्प खोजौँ


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने बताएका हुन् ।

उनले आगामी १० वर्षभित्रमा यो विमानस्थलमा थप असहजता निम्तिने बताए । विमानस्थललाई बनाउँदा पनि अब समयको मागअनुरुप परिणाम दिन नसक्ने उनको भनाइ छ ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ विमानस्थल भएको उल्लेख गरे । पोखरा, निजगढ, भैरहवा र काठमाडौँको विमानस्थललाई पीपीपी मोडलमा लानेगरी प्रक्रिया अगाडि बढाएको मन्त्री किरातीले जानकारी दिए । मन्त्री किरातीले दुर्गम क्षेत्रमा रहेका २२ वटा विमानस्थलहरू गौरचणको रूपमा परिणत भएकोप्रति चिन्ता व्यक्त गरे ।

‘हामीले यति ठूलो एयरपोर्टहरू बनाइसकेका छौँ । ती एयरपोर्टहरू अहिले घाम तापेर बसेको छ । दुर्गम क्षेत्रको पनि २२ वटा एयरपोर्टहरू आज गौचरणको रूपमा परिणत भएका छन्, ’उनले भने, काठमाडौँकै कुरा गर्नुहुन्छ भने अब ८-१० वर्षमा धेरै नै ठूलो असहजता हुनेछ । अहिले नै पनि हामी ४५ मिनेटसम्म आकाशमा होल्ड गर्नुपर्ने बाध्यता रहेको छ ।’

उनले अब पनि त्रिभुवन विमानस्थललाई मर्मत गरेर सञ्चालन गर्छु भन्नु ९० वर्षको आमालाई लिपिस्टिक पाउडर लगाइदिएर राम्री बनाउँछु भन्नु जस्तै भएको टिप्पणी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस