संघ सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघ सरकारलाई दबाब दिन सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला 


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेर प्रदेशलाई असहयोग गरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्री दबाबको कार्यक्रम तय गर्न हेटौँडामा जम्मा भएका छन् ।

हेटौँडामा बिहीबार सुरु भएको ‘तहगत अधिकारको कार्य विस्तृतीकरण’ विषयक अन्तरक्रियामा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, महान्यायाधिवक्तासहितको टोली हेटौँडामा जम्मा भएको हो ।

मुख्यमन्त्रीसहितको टोलीले गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघसँग मिलेर संयुक्त अवधारणा तय गर्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

भेलाबाट संघ सरकारले अधिकार प्रत्यायोजन गर्न आनाकानी गरेको विषयलाई प्राथमिकताका साथ उठाइने तयारी गरिएको बताइएको छ । शुक्रबार हुने भेलाअघि बिहीबार साँझ बागमतीको मुख्यमन्त्री कार्यालयको आयोजनामा प्रदेश मुख्यमन्त्रीहरूको बैठक हुने जनाइएको छ । बैठकले संयुक्त भेलाको एजेण्डा तय गर्ने तयारी छ ।

संघ सरकारले संविधानले उल्लेख गरेको अधिकार दिन आनाकानी गरेको र प्रदेश र स्थानीय तहको अधिकारलाई कटौती गर्दै विधेयकहरू धमाधम पेश गर्न थालेपछि स्थानीय तह र प्रदेश तहको पहिलो पटक संयुक्त बैठक हुन लागेको छ ।

गत असार १५-१६ गते पोखरामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलाले गरेको निर्णय कार्यान्वयनमा संघ सरकारले चासो नदिएपछि दबाबस्वरुप भेला गर्न लागिएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्को बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि समयसीमा सकिन २ दिन बाँकी रहँदै मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस