चिसोका कारण जाजरकोटमा सुत्केरी महिलाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चिसोका कारण जाजरकोटमा सुत्केरी महिलाको मृत्यु


१२ पुस २०८०, बिहिबार


जाजरकोट । जाजरकोटमा चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो । जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो ।

कमजोर आर्थिक अवस्थाका कारण १७ मंसिरमा सुत्केरी भएकी उनलाई परिवारले उनलाई त्रिपालबाट सुरक्षित ओतमा सार्न सकेको थिएन । चिसो र त्यहीकारण भएको सङ्क्रमणको उपचार नपाएका कारण कल्पनाको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष देविका शाहले बताइन् । ‘चिसोले उनको शरीर सुन्निएको थियो । उनी बिरामी थिइन् । परिवारले समयमा उपचार पनि गर्न सकेन,’ उनले भनिन् ।

स्थानीयका अनुसार घरबास कार्यक्रमबाट सानो घर बनाएका उनको परिवार भूकम्पका कारण त्रिपालमा पुगेको थियो । गरिब दलित परिवारका उनीहरूलाई साँझ बिहानको छाक टार्नै धौ–धौ पर्ने अवस्था छ, त्यहीकारण सुत्केरी हुँदा पनि परिवारले राम्रो उपचारको प्रबन्ध गर्न सकेको थिएन ।

भूकम्पपछि चिसोका कारण जाजरकोटमा मात्रै तीन बालबालिकासहित २९ जनाको मृत्यु भइसकेको छ भने रुकुमपश्चिममा अन्य ५ जनाको ज्यान गएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने त्यसबारे जानकारी नआएको जनाएको छ । ‘भूकम्पले मान्छेहरू त्रिपालमा बस्नुपर्ने अवस्था छ । चिसो पनि छ, तर त्यस्तो मृत्यु भएको कुरा हामीलाई खबर आएको छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक माधव बीसीले भने, ‘हामी कहाँ जाहेर भयो भने पोष्टमार्टम गर्नुपर्ने हुन्छ । मुद्धा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । त्यसकारण पनि मान्छेहरूलाई प्रहरीलाई खबर गर्दैनन्, त्यस्तो भएका हुन पनि सक्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस