आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती    « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आधुनिक खेतीप्रणालीले सुध्रिँदै इलामको अलैँचीखेती   


११ पुस २०८०, बुधबार


इलाम । आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन् ।

प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले पनि अलैंची मासिएको थियो । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन ।

सूर्योदय नगरपालिका–१ बाङ्गिनका बिरेन शेरेङले करिब एक सय रोपनी क्षेत्रफलमा अलैंची लगाएका छन् । ‘वर्षमा २७ देखि ३१ मन सम्म उत्पादन हुन्छ, सबै खर्च कटाएर वार्षिक रु आठ–दश लाख बचत हुन्छ’, उनले भने ।

अलैंची मासिएर निराश भएको समयमा तालिम लिएर खेती गर्दा पुनः अलैंचीबाट आम्दानी लिन थालेको उनले बताए ।

जिल्लामा यस वर्ष एक हजार तीन सय २० दशमलव पाँच मेट्रिक टन अलैंची उत्पादन भएको छ । यो अघिल्लो वर्षको तुलनामा सात दशमलव ९६ प्रतिशतले धेरै हो ।

एक हजार सात सय ५३ हेक्टर जमिनमा सो बराबरको अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिए ।

उनका अनुसार गत आवमा एक हजार दुई सय १५ दशमलव २६ मेट्रिक टनमात्र अलैँची उत्पादन भएको थियो । ‘पोहोर एक हजार सात सय ५५ हेक्टर जमिनमा अलैंचीखेती गरिएको थियो’, उनले भने, ‘अलैंचीको बगान घटे पनि यस वर्ष उत्पादन र उत्पादकत्व वृद्धि भएको छ ।’

गत वर्ष प्रतिहेक्टर शून्य दशमलव ६९ उत्पादकत्व रहेकामा चालु आवमा वृद्धि भएर प्रतिहेक्टर शून्य दशमलव ७५ पुगेको उनले बताए ।

दशकअघि इलामका किसानको मुख्य आम्दानीको स्रोत नै अलैंची थियो । अलैंचीकै आम्दानीले घर खर्च चलाउन मात्र होइन जग्गा–जमिन जोड्नसमेत सहयोग पुगेको थियो । तर अचानक अलैँचीमा रोग देखिएपछि जिल्लाका अधिकांश किसानको रोजीरोटी हरायो, धेरैको आम्दानी ठप्प भयो । बिस्तारै अलैंची मासियो तर यसको भाउ भने एकाएक आकाशिएर प्रतिमन रु एक लाखसम्म पनि पुग्यो ।

आवश्यक तालिम र विज्ञको सल्लाह लिएर यहाँका किसानले अलैंचीलाई सुधार गरेर उत्पादन पुरानै अवस्थामा पुर्‍याउने प्रयास थालेका छन् । ‘पाखामा गाडेर मात्र नहुँदोरहेछ, स्याहार गर्न र मलजल गर्न थालेपछि अलैंची सुधार भएको छ’, किसान शेरेङले भने, ‘रोप्ने तरिका र गोड्ने ढाँचा नै परिवर्तन गरेपछि अलैंचीको उत्पादनमा धेरै फरक पाइयो ।’

उनले सिंचाइको समस्या नहुने हो भने अझ उत्पादन बढाउन सक्ने बताए ।

अलैंची विकास केन्द्रका तत्कालीन प्रमुख पदम अधिकारीसँग चार वर्षअघि लिएको तालिमले व्यावसायिक खेती गर्न सहयोग पुर्‍याएको उनले बताए ।

‘मेरोमा उत्पादन भएको अलैंची बाग्लुङ, पोखरा, स्याङजापट्टि पनि आपूर्ति भएको छ’, उनी भन्छन्, ‘ मैलै सधैं बिरुवा उत्पादन गरेर अलैंची विकास केन्द्रलाई दिने गरेको थिएँ, यस वर्ष बिरुवा राख्न फुर्सद भएन, आउँदोसाल बृहत् गर्नुछ ।’

प्रत्येक एक–एक महिनामा अलैंची गोड्ने काम गर्दा फूल नमर्ने र बोट सेपिलो नहुनाले अलैंची सप्रिएको किसानको अनुभव छ ।

अर्का किसान मित्रभक्त अधिकारीका अनुसार निश्चित मात्रामा सिंचाइ, फाँड्ने र गोड्नेसँगै, गोठेमलको प्रयोग गर्न थालेपछि अलैंची सुध्रिएको हो । किसानले अलैंचीका लागि सङ्घसंस्था र विज्ञबाट रोप्ने शैली सिकेकाले रोग हट्दै गएको हो ।

अलैंचीबाट आम्दानी लिने दिन गएछ भनेर सोचेका किसान तालिम र परामर्शपछि अलैंची सुध्रिएको बताउँछन् ।

घरेलु औषधि र मलको प्रयोग अलैंचीलाई महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ । दशकअघिको खेती प्रविधि सम्झँदै माइजोगमाईका अधिकारीले भने, ‘त्योबेला अलैँची त दुःख नगरी फल्दो रहेछ, जबर्जस्ती आम्दानी लिएछौं ।’ सबै किसानले जुनसुकै खेती गर्नुभन्दा अघि तालिम र परामर्श लिनु जरुरी हुने उनले बताए ।

पोहोरभन्दा झण्डै तीन गुणा बढीले अलैंचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताए । ‘गत वर्ष यो सिजनमा प्रतिमन रु २८ हजार थियो, यस वर्ष राम्रो अलैंची प्रतिमन ८० हजारसम्म बिक्री भइरहेको छ ।’

उनका अनुसार जिल्लामा विगतमा जस्तै सबैतिर अलैंचीखेती भने छैन । किसानले अलैंची मासेर वैकल्पिक खेती लगाएकाले क्षेत्रफल घटेको छ । जमिन घटे पनि मलजल र किसानको मेहनतले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

छ गाउँपालिका र चार नगरपालिका गरी १० स्थानीय तह भएको इलाममा माइजोगमाई र सन्दकपुर गाउँपालिकामा बढी मात्रामा अलैँचीखेती भए पनि सबै स्थानीय तहमा आंशिकरूपमा खेती हुँदै आएको छ ।

अलैंचीखेती समुद्री सतहबाट सात सयदेखि दुई हजार एक सय मिटर उचाइसम्म हुने गरेको छ भने यसको उत्पादन भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा धेरै हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस