सरकारका तीनै तह बिच प्रशासनिक समन्वयका लागि परिषद्ले काम गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारका तीनै तह बिच प्रशासनिक समन्वयका लागि परिषद्ले काम गर्दै


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनको काम भइरहेको बताएका छन् ।

सरकार गठनको एक वर्ष पूरा भएको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष आफूले सुनेको उल्लेख गर्दै सङ्घीयताका सबै गाँठा निकै छिटो फुकाइँदै जाने बताएका हुन् ।

‘म प्रदेशलाई बलियो बनाएर लैजानुपर्छ भन्ने पक्षमा दृढ छु। पछिल्लो समय प्रदेश मुख्यमन्त्रीहरूको असन्तोष मैले सुनेको छु र बुझेको पनि छु। म आज यही सम्बोधनबाट उहाँहरूलाई विश्वास दिलाउँछु, सङ्घीयताका सबै गाँठा निकै छिटो फुकाइँदै छन्,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक मैले नै डाकेको हुँ। सङ्‌घ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जन गरिँदै छ। ’

राष्ट्रिय सभाको सङ्‌घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सिफारिसहरू पनि कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ । ‘पूर्वाधार विकासमा थप गति दिन संविधानबमोजिम तीन तहका सरकारबिचको कार्यक्षेत्रमा स्पष्टता ल्याई पूर्वाधार विकासका कार्यक्रममा रहेको दोहोरो/तेहेरोपन हटाइँदैछ। सरकारका तीनै तहबिच प्रशासनिक समन्वय र सहकार्यका लागि नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा प्रदेशका प्रमुख सचिवहरू सम्मिलित प्रशासनिक समन्वय परिषद्को बैठक बसेर आवश्यक काम गरिरहेको छ।

सङ्घीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न म प्रतिबद्ध र दृढ छु। यसका लागि जरुरी कानुन तुरुन्त ल्याउन म तयार छु,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस