टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न लेखा समितिले डाक्यो बैठक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न लेखा समितिले डाक्यो बैठक


९ पुस २०८०, सोमबार


काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ । 

समितिको बैठक बुधवारका लागि डाकिएको हो । बैठकमा छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाइएको समितिले जनाएको छ । 

यसअघि असोज २६ मा बसेको समितिको बैठकमा टेरामक्स प्रविधिको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा नायव महालेखापरीक्षक, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकसँग छलफल भएको थियो । 

टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै समितिले प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्म भएका कागजात एवं निर्णयको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

यसै गरी समितिले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरू (इन्टरनेट सेवा प्रदायक समेत)ले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व ३ महिनाभित्र अनिवार्यरुपमा कानुन बमोजिम असुल उपर गर्न, गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने विवादास्पद टेरामक्स प्रणाली खरिद गर्ने दूरसञ्चार प्राधिकरणको निर्णयमाथि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान गरिरहेको हो । 

सरकारका मन्त्री तथा उच्चअधिकारीहरु समेत संलग्न रहेको आशङ्कामा अख्तियारले उनीहरू माथि पनि  अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस