नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न नाउपाको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न नाउपाको माग


९ पुस २०८०, सोमबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले प्रदेशको नामको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरणपछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका विषयमा जनमत सङ्ग्रह गर्न माग राखेको हो ।

नागरिक उन्मुक्ति पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जनमत सङ्ग्रहमा गए कोशी नाम स्वीकार नहुने दाबी गरे । उनले प्रदेशका अधिकांश नागरिक कोशी नामको विपक्षमा रहेको दाबी गरे ।

गुरुङले कोशी नामका पक्षमा मत हाल्ने सांसदले समेत गोप्य मतदानमा लैजाने हो भने मत नहाल्ने दाबी गरे ।

गुरुङले अहिले पनि नामका विरुद्धमा आन्दोलन भई रहेकाले आन्दोलनबाट हुने धन जनको क्षति रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले उन्मुक्ति पार्टीको महाधिवेशन पछि अझै सशक्त आन्दोलन हुने बताए ।

पत्रकार सम्मेलनमा सङ्घीय सह सचिव पदम अधिकारीले यो प्रदेशमा तीन वटा राष्ट्रियता भएको भन्दै त्यसैका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए । यहाँ लिम्बुवान किराँत र कोचिला राष्ट्रियता छ । अधिकारीले लिम्बुवान किराँत मात्रै होइन नामकरणले कोचहरूको समेत सम्बोधन हुनु पर्ने बताए ।

उन्मुक्ति पार्टीको पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको एकता महाधिवेशन हुँदै छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर ज्ञानबहादुर गुरंगको नेतृत्वमा रहेको समूहले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस