सुदूरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले गर्‍यो सांसद चौधरीसँग छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिम लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले गर्‍यो सांसद चौधरीसँग छलफल


८ पुस २०८०, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे मुख्यमन्त्रीसहितको टोलीले नेपाली काँग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीसँग छलफल गरेको छ ।

लगानी सम्मेलनलाई सफल बनाउन मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक योजना मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौँमा काँग्रेस नेता चौधरीसँग छलफल गरेको हो ।

मुख्यमन्त्री शाहले लगानी सम्मेलनका बारेमा जानकारी गराउँदै सुदूरपश्चिममा लगानीका लागि चौधरीलाई आग्रह गरे । उनले लगानीका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताए ।

उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाई भएपनि प्रदेश सरकारकातर्फबाट उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अप्ठ्यारो नपार्ने प्रतिबद्धता जनाए ।

काँग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएपनि सरकारकै कारण पछाडि पारिएको बताए । उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रस्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे ।

उनले जडीबुटी, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रमा ध्यान दिन मुख्यमन्त्रीसहितको टोलीलाई आग्रह गरे । आफ्नो पनि रोजाईमा सुदूरपश्चिम प्रदेश रहेकाले त्यसका लागि सरकारको नीति पर्खिरहेको सांसद चौधरीले बताए ।

प्रदेश सरकारका भौतिक योजना मन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले अन्तर्राष्टिय रूपमै ख्यातिप्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस