नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा


७ पुस २०८०, शनिबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ समीकरण पूरा भएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको लिग चरणको अन्तिम खेलबाट काठमाडौँ रेजर्स एफसी प्लेअफमा पुग्यो ।

प्लेअफ पुग्ने अन्तिम टोली बनेको काठमाडौँले ललितपुर सिटी एफसीलाई १-० गोलले हरायो । काठमाडौँका लागि पहिलो हाफको इन्ज्युरी समयमा आन्द्रेस नियाले गरेको गाेल निर्णायक भयो । निकै प्रतिस्पर्धात्मक खेलकाे ७५ औँ मिनेटमा काठमाडौँका अमित तामाङले रेड कार्ड पाउँदै बाहिरिए भने ललितपुरले त्यसको फाइदा उठाउन सकेन । काठमाडौँको जितले ८ खेलमा १० अङ्क भएर पनि गाेल अन्तरका आधारमा झापा एफसी बाहिरिएको छ ।

यो जितसँगै काठमाडौँ ८ खेलमा १२ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । यसअघि नै प्लेअफ पुगिसकेकाे ललितपुर यो हारले ८ खेलमा १० अङ्कसहित चाैथाे स्थानमा झरेकाे छ ।

ललितपुरकाे हारले धनगढी एफसीलाई फाइदा भएको छ । धनगढीले ८ खेलमा १३ अङ्कसहित दाेस्राे स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ । पोखरा ८ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ ।

एनएसएलको क्वालिफायरमा पर्सि साेमवार पोखरा र धनगढीबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ । यो खेल हार्ने टाेलीले फाइनल प्रवेशका लागि आउँदाे बिहीवार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मङ्गलवार ललितपुर र काठमाडौँ बीच खेल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस