काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे सङ्घर्षमा उत्रिने चेतावनी दिएका छन्।
सुनसरीको भोक्राहा नर्सिङमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन्।
संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीलाई आग्रह छ’‚ उनले भने, ‘अधिकार हस्तान्तरण नगरे सदन र सडकबाट सङ्घर्ष गर्छु।’
‘विद्युत्कै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत् प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ। त्यो हामीले पाउनु पर्नेछ’‚ उनले भने, ‘त्यसका लागि संघीय सरकार र संघीय संसद्सँग सहकार्य र सङ्घर्ष दुवै गर्नु पर्नेछ।’
सबस्टेशन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए। निजी क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सके विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजी क्षेत्रलाई सहकार्य मात्रै नभई अभिन्न अङ्गको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए।







