काँग्रेसको मधेश प्रदेश सम्मेलन आज « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसको मधेश प्रदेश सम्मेलन आज


५ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश सम्मेलन आज हुँदैछ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।

प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापासहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।

सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।

यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिकारुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।

बिहीबार हुने मधेश सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् ।

‘मिति ०८० पौष ५ गते बिहीवार काँग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा. शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् ।

मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । ‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ । हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन ।’

सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस