काँग्रेसले २०८४ को चर्चा गर्न पाउँदैन, आज र अहिलेको जिम्मा लिनुपर्छ : गगन थापा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसले २०८४ को चर्चा गर्न पाउँदैन, आज र अहिलेको जिम्मा लिनुपर्छ : गगन थापा


१ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेसले २०८४ को चर्चा पनि गर्न नपाउने बताएका छन् । आइतबार पर्वतमा काँग्रेस क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले काँग्रेसले ८४ नभई आज र अहिलेको जिम्मा लिनुपर्ने बताएका हुन् ।

‘नेपालमा अरु सबैले भन्न पाउँछन् । तर, काँग्रेसले २०८४ को चर्चा पनि गर्न पाउँदैन । हामीसँग त्यो अधिकार छैन । काँग्रेसले ८० को जिम्मा लिनुपर्छ, काँग्रेसले ८१ को जिम्मा लिनुपर्छ, अहिले र आजको जिम्मा लिनुपर्छ । आज नागरिकमा छटपटी छ भने अरु छटपटी छ भनेर निबन्ध लेखे पुग्छ, हामीले छटपटी मेटाउनुपर्छ’, उनले भने ।

२०४८ साल देखिएका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी गैरश्रोतबाट आम्दानी भएको रकमले स्वास्थ्य बिमा मार्फत जनतालाई निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए ।

प्रत्येक हप्ता केही न केही नयाँ आर्थिक काण्डहरू सार्वजनिक भइरहेको भन्दै जनतामा चरम निराशा छाएको महामन्त्री थापाले सुनाए । नागरिक उपचार गर्न नपाएर मर्न बाध्य भइरहेको बेलामा अर्बौँ रुपैंया भ्रष्टाचार हुने गरेका काण्डहरू सार्वजनिक भएका कारण पनि जनतामा चरम निराशा छाएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस