चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनको ग्वान्दोङ प्रान्तको संस्कृति विभागको टोली लुम्बिनीमा


२९ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी आएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणसहित नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरण गर्न ११ सदस्यीय टोली भैरहवा विमानस्थल हुँदै लुम्बिनी आएको हो ।

चिनियाँ टोलीलाई नेपाल चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको थियो । सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीनबीच सदियौंदेखि सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सांस्कृतिक आदानप्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवर्द्धन गर्न मैत्रीपूर्ण भ्रमणमा आएको बताए ।

ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहाँका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले बताए ।

चिनियाँ टोलीलाई स्वागत गर्दै नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनियाँ शहरबाट सीधा उडानको वातावरण मिलाइदिन आग्रह गरे ।

उनले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ-काठमाडौँ-लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरे । केरुङ-काठमाडौँ-लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौँको संख्यामा रहेको चिनियाँ बौद्धमार्गीलाई लुम्बिनी आउन सहज हुने अध्यक्ष सापकोटाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस