माथिल्लो अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माथिल्लो अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने


२५ मंसिर २०८०, सोमबार


किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।

आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला-२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो ।

पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय वन तथा भोटखोला-२ मा पारिपाखा र माक्पालुङ सामुदायिक वन क्षेत्रले ओगटेको करिब २१ दशमलव शून्य आठ हेक्टर क्षेत्रफलका दुई हजार एक सय ६८ रुख काट्न अनुमति दिइएको डिभिजन वन कार्यालयका प्रमुख भीम कालीकोटेले जानकारी दिए ।

आयोजना सञ्चालनका क्रममा विकास सम्झौता (पीडीए) अनुसार रुख कटान भए पनि बिरुवा अर्को ठाउँमा रोपिनुपर्ने व्यवस्था रहेको उनले बताए । योसँगै आयोजनाका लागि पहुँचमार्ग बनाउने प्रक्रिया थालिएको उनको भनाइ थियो ।

प्राधिकरणले दुई दशमलव ०३ किलोमिटर सुरुङमार्गसहित करिब २२ किलोमिटर पहुँच सडक निर्माणका लागि भारतीय गायत्री जेभी र झापाको कन्काइ सुरुङ्गा जेभी कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ । पहुँचमार्गमा पर्ने अरुण नदी र चेपुवामा पक्की पुलसमेत निर्माण गरिने आयोजना कार्यालयले जनाएको छ ।

पहुँचमार्ग भोटखोला गाउँपालिका–४ छोराङदेखि भोटखोला–२ रुकुमा फेदीसम्मको निर्माण गरिनेछ । सात अर्ब ९१ करोड ३९ लाखमा उक्त सडक निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ ।

माथिल्लो अरुण आयोजनाका प्रभावित क्षेत्रका लागि रू दुई अर्ब २३ करोड १९ लाख मुआब्जा रकम वितरण भइसकेको छ । जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब २६ करोड रुपैयाँ बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ ।

हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइने आयोजना कार्यालयले जनाएको छ ।

जलविद्युत आयोजनाका लागि १४ हजार रूख कटान

जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाका लागि १४ हजारभन्दा बढी रुख कटान गरिएको छ । निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायत विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

विद्युत् आयोजनाका लागि जिल्लामा सामुदायिक र निजी क्षेत्रका रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । नौ सय मेगावाटको अरुण तेस्रो र दुई सय २० मेगावाटको कोसी करिडोर प्रसारण लाइन निर्माणका लागि उक्त सङ्ख्यामा रूख काटिएका हुन् ।

अरुण तेस्रो र कोसी करिडोर प्रसारण लाइनका लागि जिल्लामा १८ सामुदायिक वनका १४ हजार छ सय २७ रुख कटान गरिएको डिभिजन वन कार्यालयका प्रमुख कालीकोटेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस