उन्नत जातका गाईभैँसी पाल्नेलाई अनुदान दिइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उन्नत जातका गाईभैँसी पाल्नेलाई अनुदान दिइने


२५ मंसिर २०८०, सोमबार


काठमाडौँ । पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाईभैँसी खरिद गर्नेलाई अनुदान दिने भएको छ । पशुपालनका माध्यमबाट गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले सो योजना अघि सारिएको हो ।

दूध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि उन्नत जातका गाईभैँसी खरिद गरेबापत अनुदान वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

उन्नत जातका गाई वा भैँसी जुनसुकै खरिद गरेर दूध तथा पाडा-पाडी र बाच्छाबाच्छी उत्पादन गर्नेलाई प्रति गाईभैंसी रू २० हजार अनुदान दिने निर्णय भएको पालीकाको भनाई छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन रिजालका अनुसार योसँगै दूध उत्पादन बढाउने र गाउँ-गाउँमा सङ्कलन केन्द्र बनाउने कार्यक्रम रहेको छ । लिमे पाराकोटे भैँसी र रैथाने जातका गाईपालन गर्दा कृषकलाई समेत फाइदा नहुने र बाह्रैमास बाह्य जिल्लाबाट दूध तथा दुग्धजन्य वस्तु आयात गर्नुपर्ने अवस्था भएपछि गाउँ कार्यपालिकाको बैठकले कृषकलाई अनुदान दिने निर्णय गरेको उनको भनाइ छ ।

पालिकाभित्र व्यावसायिकरुपमा पशुपालन गर्दै आएका अगुवा कृषक, कृषि फार्म वा कृषि सहकारी संस्था र कृषक समूहले जतिसुकै सङ्ख्यामा खरिद गरे पनि सङ्ख्याको हिसाबले अनुदान वितरण गरिने रिजालले जानकारी दिए ।

यस अनुदान कार्यक्रमले कृषकलाई पशुपालनतर्फ प्रोत्साहन गर्नुका साथै स्वयं कृषक र गाउँपालिका पनि दूध, घ्यु, दहीलगायत दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने तथा बाह्य क्षेत्रमा निर्यात गर्न सकिने विश्वास पालिकाको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस