पोखरामा एमालेको सङ्कल्प यात्रा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पोखरामा एमालेको सङ्कल्प यात्रा


२२ मंसिर २०८०, शुक्रबार


कास्की । नेकपा (एमाले)ले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज पोखरा आइपुगेको छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा महानगरपालिका–७ नुवारथोकस्थित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्र्यापण गरेर सो अभियानको पोखरामा सुरु गरेका छन् ।

यात्रामा रहेको टोलीलाई पोखराको जिरोकिमी र अमरसिंहचोकमा भव्य स्वागत गरिएको छ । सडकको किनारमा उभिएर पार्टीका नेता तथा कार्यकर्ताले यात्रामा रहेको टोलीलाई फूलमालाले स्वागत गरेका छन् ।

अमरसिंहचोकमा गण्डकी प्रदशेसभा सदस्य बेदबहादुर गुरुङले अध्यक्ष ओलीलाई अल्लोको धागोबाट बनेको भाङ्ग्रा लगाएर स्वागत गरे । पार्टी अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु सङ्कल्प यात्रामा छन् ।

पोखराको तालचोक र रुपा गाउँपालिकाको तालबेंसीमा स्वागत कार्यक्रममा सहभागी हुने टोली दिउँसो रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीबार साँझ कास्की र पर्वतको सीमास्थल नयाँ पुलमा बाजागाजासहित स्वागत गरिएको थियो । कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत तथा हेम्जामा स्वागतसहित सभा गरिएको हो ।

सो सभामा अध्यक्ष ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् । उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस