स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वास्थ्यमन्त्री बस्नेतद्वारा ‘पोइजन सूचना केन्द्र’ को उद्घाटन


२१ मंसिर २०८०, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

त्रिवि शिक्षण अस्पताल, क्लिनिकल फर्माकोलोजी विभागद्वारा आज यहाँ आयोजित ‘पोइजन इन्फरमेसन सेन्टर’ को शुभारम्भ गर्दै उनले शिक्षण अस्पतालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको बताए ।

“यो सेन्टरले विष सेवनका कारण उपचारमा आउने गरेका समस्यालाई निराकरण गर्न टेलिमेडिसिनकै काम गर्ने छ । शिक्षण अस्पतालले उपलब्ध गराएको सम्पर्क नं सबै वडा स्तरमा उपलब्ध गराई तत्काल सेवा सञ्चालन हुन्छ”, मन्त्री बस्नेतले भने । कार्यक्रममा डा. राकेश घिमिरेले नेपालमा बर्सेनि ६ हजार नौ सय ३३ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ती मध्ये १८ देखि २० प्रतिशतसम्म विष सेवन गरेर हुने गरेको जानकारी दिए ।

कार्यक्रममा डा. रामु खरेलले सूचना केन्द्रले धेरै मानिसको ज्यान बचाउन सकिने बताए । केन्द्रका अनुसन्धान तथा नीति सहप्रध्यापक डा. प्रदीप ज्ञवालीले मुलुकको भूगोलअनुसार समस्या पहिचान गरी सेवा विस्तार गर्न सकिने बताए ।

शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले उक्त ‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा ल्याएको हो । विष सेवन गरेकाको उपचारलाई प्रभावकारी बनाएर उनीहरूको मृत्युदर कम गर्ने उद्देश्यले विज्ञहरूमार्फत उपयुक्त सल्लाह सुझाव प्रदान गर्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा स्थापना गरिएको यो सूचना केन्द्रले २४ घण्टा आवश्यक सूचना उपलब्ध गराउने छ । विष सेवनपछिको उपचारका विषयमा जानकारी लिनुपरेमा ०१-४५०२०११ मा फोन गर्न सकिने विभागले जनाएको छ । विष सेवन पछिको उपचारका विषयमा जानकारी दिन संस्थागत रूपमा स्थापना गरिएको यो नेपालको पहिलो सेन्टर भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस