बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन, दबाब र प्रभाव आए जिम्मेवारी म लिन्छु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन, दबाब र प्रभाव आए जिम्मेवारी म लिन्छु


१८ मंसिर २०८०, सोमबार


काठमाडौँ । चालु वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न मातहतका प्रदेश सचिवलाई निर्देशन दिइएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमबार प्रदेश मन्त्रालयका सचिवहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन् ।मुख्यमन्त्री कार्कीले प्रदेशको खर्च गर्ने क्षमता बढाउँदै चालु वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

छलफलमा प्रदेशको बजेट कार्यान्वयनमा ढिलाइ गर्न नहुनेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशलाई सफल बनाउने जिम्मा हामी सबैको हो। बजेट आइसकेको अवस्था छ। अब बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बहाना छैन।’

उनले बजेट कार्यान्वयनमा अवरोध हुने विषयलाई संशोधन गर्न सकिनेतर्फ लचिलो देखिएका मुख्यमन्त्री कार्कीले भने, ‘बजेट कार्यान्वयनमा जे-जे कुराले रोक्छ। ऐन कार्यविधि नियमावली जहाँ बाधक हुन्छन्। ती विषयमा संशोधन गर्दै अघि बढ्न सरकार तयार छ। अब वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकतामा छ।’

सुशासनमा देखिएका चुनौतीलाई पन्छाउँदै नागरिकको काम, सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको रहेको मुख्यमन्त्री कार्कीले बताए।

बजेट कार्यान्वयनका विषयमा अवरोध आए जिम्मेवारी आफैँ लिने बताएका मुख्यमन्त्री कार्कीले भने, ‘कार्यान्वयन गर्ने निकायमा कुनै पनि राजनीतिक दबाब, प्रभाव आए त्यसको जिम्मेवारी म लिन्छु।’

छलफलमा बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानुन, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्रीसमक्ष पेस गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिए।

Tags :
प्रतिक्रिया दिनुहोस