चारमध्ये तीन राज्यमा भाजपा विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चारमध्ये तीन राज्यमा भाजपा विजयी


१८ मंसिर २०८०, सोमबार


नयाँदिल्ली । भारतको सत्तारूढ दल हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)ले आइतबार सम्पन्न मतदानबाट प्राप्त परिणामअनुसार चार राज्यमध्ये तीनमा जीत हासिल गरेको छ ।

निर्वाचन आयोगको वेबसाइटअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले भारतीय राष्ट्रिय काँग्रेसबाट छत्तीसगढ र राजस्थान राज्यको नियन्त्रण खोसेको छ र कीर्तिमानी पाँचौँ कार्यकालका लागि मध्य प्रदेशमा पुनः विजय हासिल गरेको छ ।

काँग्रेसले तेलङ्गना राज्यमा सजिलै जीत हासिल गरेको छ । तेलङ्गनामा भाजपाको विरोध गर्ने पार्टीका रूपमा चिनिएको बलियो तेलङ्गना राष्ट्र समितिको शासन छ । पाँचौँ राज्य मिजोरममा सोमबार मतगणना हुनेछ । यहाँ भाजपाको क्षेत्रीय सहयोगी दल मिजो नेसनल फ्रन्ट सत्तामा छ ।

यी पाँच राज्यमा गत महिना मतदान भएको थियो र १६ करोडभन्दा बढी मानिस मतदान गर्न योग्य थिए । भारतमा मतदान सामान्यतया ठूलो जनसङ्ख्याका कारण चरणबद्ध रूपमा गरिन्छ ।

प्रधानमन्त्री मोदीले आफ्नो पार्टी विजयी भएका राज्यहरूमा ‘मतदाताको अटुट समर्थन’ का लागि मतदाताहरूलाई धन्यवाद दिएका छन् । ‘छत्तीसगढ, मध्य प्रदेश र राजस्थानको नतिजाले भारतीय जनता सुशासन र विकासको राजनीतिमा दृढ छन् भन्ने सङ्केत गर्दछ, सुशासन र विकासका लागि भाजपा खडा छ’, मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।

काँग्रेस नेता राहुल गान्धीले तीन राज्यमा हार स्वीकार गरेका छन् । ‘विचारको लडाइँ जारी रहनेछ’, तेलङ्गनाका जनतालाई धन्यवाद दिँदै उनले एक्समा भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस