एमालेले सरकार छोडेपछि देशमा भ्रष्टाचार र तस्करी मौलाए: केपी ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेले सरकार छोडेपछि देशमा भ्रष्टाचार र तस्करी मौलाए: केपी ओली


१६ मंसिर २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताएका छन्।

शनिबार महाकाली-मेची अभियान अन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमालेले सरकार छोडेपछि भ्रष्टाचार, तस्करी, मौलाएको दाबी गरे।

सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरिरहेको आरोप उनको थियो। ओलीले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले नै चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरू राजनीतिक दलहरूले गर्न नसक्ने दाबी समेत गरे।

‘म एमालेका नेता कार्यकर्ताहरूलाई भन्न चाहन्छु, अहिले पनि अरू पार्टीमा अलमलिएर रहेका साथीहरूलाई नेकपा एमालेमा आमन्त्रण गर्नुस्। एमालेले सरकार छोडेपछि देशको अवस्था के भयो ? सबैले देख्नुभएको छ। बुझ्नुभएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भइरहेको छ। यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरू कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन।’

अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको उल्लेख गरे। उनले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनुपर्ने बताउँदै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्वरता र खनिजहरूले सम्पन्नता भएको देश गरिब रहन नसक्ने जिकिर गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस