उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला


१६ मंसिर २०८०, शनिबार


सिरहा । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चार जना महिला मिलेर ‘जागरूक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।

ओरेक नेपाल सिरहाको वार्षिक व्यावसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिइन् । उनको अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो ।

‘श्रीमान् तथा सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनको लागि हामीले ‘बीउपुँजी’ स्वरूप सानो रकम उनीहरूलाई उद्योग सञ्चालन गर्नको लागि उपलब्ध गराउँछौँ’, संयोजक चौधरीले भनिन् । “यसले उहाँहरूको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ ।” उहाँको अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन् ।

ओरेक नेपाल सिरहाले गरेको यस प्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनः स्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताइन् । साथै हिंसा प्रभावित महिलाको समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

चार दिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न रहेका हिंसा प्रभावित महिला निकै उत्साहित भएका छन् । यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरूलाई लागेको उनीहरूले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस