नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।

अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए । मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाडेको थियो । थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदन दिएका हुन् । उनीहरूले आफूहरूलाई थुनामुक्त गर्न माग गरेका छन् ।

त्यस्तै धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस