‘हाम्रो पालाको विकास देखेर विश्व चकित थियो, अहिले विकास र समृद्धि रोकियो’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘हाम्रो पालाको विकास देखेर विश्व चकित थियो, अहिले विकास र समृद्धि रोकियो’


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा विकास र समृद्धि रोकिएको टिप्पणी गरेका छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको उद्घाटनको लागि बैतडी पुगेका अध्यक्ष ओलीले हिजोका सबै विकासका गति रोकिएको बताएका हुन् ।

एमाले नेतृत्वको सरकारले गरेको विकास देखेर विश्व जगत् नै आश्चर्यचकित भएको ओलीको भनाइ थियो । ‘विश्व नै चकित थियो नेपालको विकास देखेर । विश्व बैंकले उदाउँदो तारा हो नेपाल भनेको थियो’, ओलीले भने, ‘तीव्र गतिमा विकास भएका १० देशमा नेपाल पर्छ भनिएको थियो ।’

२०७२ सालमा गएको भूकम्पले ध्वस्त पारेका घरहरूको पुनर्निर्माणले विश्वले प्रशंसा गरेको र कोभिड सङ्क्रमणका बेला गरिएको पहल र क्रियाकलापले विश्व स्वास्थ्य सङ्गठनले पनि नेपालको प्रशंसा गरेको ओलीले बताए । ती सबै सुधारको प्रयास देखेर नै असंवैधानिक ढङ्गबाट सरकार ढाकिएको ओलीको जिकिर थियो ।

‘पहिले एक वर्षमा १० किलो मिटर सडक कालोपत्रे हुन्थ्यो । हामीले दैनिक ५ किलोमिटर सडक बनायौँ । पहिले एक वर्षमा भएको काम हामीले २ दिन मा गरेका थियौँ, ‘उनले भने, ‘विकासको गति देखेर एमालेको सरकार असंवैधानिक ढङ्गबाट ढालियो ।’

अहिले मुलुकको अवस्था जर्जर बन्दै गइरहेको उनले बताए । हिजो कैलाली पुगेको ओली आज बैतडी पुगेका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पुगिसकेका छन् ।

भोलि बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस