सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो सेना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सीमा सुरक्षा चौकी पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो सेना


११ मंसिर २०८०, सोमबार


काठमाडौँ। उत्तर कोरियाले एउटा जासुसी उपग्रह प्रक्षेपण गरेपछि कोरिया प्रायद्वीपमा तनाव उत्पन्न भएको छ ।

यसै सिलसिलामा उत्तरकोरियाले दक्षिण कोरियासँगको सन् २०१८ को सम्झौताअन्तर्गत हटाइएका सुरक्षा चौकी पुनः स्थापना गर्नका लागि उसको दक्षिणी सीमामा सेना पठाएको सोलको सेनाले सोमबार बताएको छ ।

गत साता प्योङयाङले जासुसी उपग्रह प्रक्षेपण गरेपछि जवाफमा सोलले सीमामा हुने तनावलाई कम गर्ने उद्देश्यले गरिएको सम्झौतालाई आंशिक रूपमा निलम्बन गरेको थियो । जवाफमा प्योङयाङले पुनः सम्झौता गर्न बाध्य नहुने चेतावनी दिँदै उक्त सम्झौतालाई पूर्ण रूपमा रद्द गरेको थियो ।

प्योङयाङले हालै सुरक्षा चौकीहरू पुनः स्थापना गर्नका लागि सशस्त्र कर्मचारी र उपकरणहरू पठाएको एक सैन्य अधिकारीले एएफपीलाई सोमबार बताएका छन् ।

उत्तर कोरियाली सैनिकहरूले ‘शुक्रबारदेखि सुरक्षा चौकीको पुनर्निर्माण गरेको देखेको’ एक सैन्य अधिकारीलाई उद्धृत गर्दै योन्हाप समाचार एजेन्सीले बताएको छ । पाँच वर्ष पुरानो सैन्य सम्झौताअन्तर्गत हटाइएका सबै ११ चौकीहरू पुनः स्थापना गर्ने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाको सेनाले जारी गरेको एउटा तस्बिरमा उत्तर कोरियाका चार सैनिकले दुवै मुलुकलाई विभाजन गर्ने असैन्यकृत क्षेत्रमा एउटा काठको सुरक्षा चौकी पुनर्निर्माण गरिरहेको देखाइएको छ ।

उत्तरकोरियाको हतियार कार्यक्रमहरूको तीव्र विकासले सोललाई चिन्तित बनाएको छ । दक्षिण कोरियाले उत्तरकोरियाको उपग्रह प्रक्षेपणपछि सीमामा ‘निगरानी र जासुसी स्रोत’ तैनाथ गरेको छ । आणविक हतियारयुक्त उत्तर कोरियाको बढ्दो खतराविरुद्ध सुरक्षित रहन ‘आवश्यक उपाय’ भएको उसको सेनाले बताएको छ ।

जवाफमा प्योङयाङले दुवै कोरियाबीच ‘सैन्य सिमाङ्कन रेखाको छेउमा थप शक्तिशाली सशस्त्र बल र नयाँ प्रकारको सैन्य हार्डवेयर तैनाथ गर्ने’ बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस