मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान


१० मंसिर २०८०, आइतबार


रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या साह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु रहेका छन् ।

पक्राउ गरिएका व्यक्तिलाई जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायब गराएको अभियोग उनीहरूमाथि लगाइएको छ ।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका-१, थुमनका अन्दाजी ४२ वर्षीय काले भनिने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धुन्चे ल्याउँदै गर्दा रोंगा दोभानको नजिक उत्तरतर्फको भीरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन् ।

सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरिएको थियो । सो मुद्दामा पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् ।

यस्तै, मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमा पक्राउ परेका थुमनकै उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुन्चे जानका निम्ति गाउँमा सवारीसाधनको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुन्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भीरबाट भोटेकोसीतर्फ भागेर हामफालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित र गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका निम्ति सडकसंघष समेत गरेका थिए ।

उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ट प्रमाण र आधार नहुँदा लामो बहस र छलफलबाट पछि ठहरेबमोजिम फैसला हुने गरी हाललाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिइन् ।

सो मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतको छानामा ढुङ्गा प्रहर गरेका थिए । प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस