काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट पछाडि फर्कने वा विकल्प खोज्नतिर लागे फेरि अर्को जुनी खेर जाने बताएका छन्। शुक्रबार काँग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले समस्याहरू हल गरेर जानुपर्ने बताए।
‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईँहरूको चित्त दुखेको छ, म मान्दछु। चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु। यसलाई सम्बोधन गरेर जाने हो। तर यसको नाममा यदि हामीले पछाडि फर्कनुपर्छ वा अर्को विकल्प खोज्नुपर्छ भन्नेतिर लाग्यौँ भने फेरि अर्को जुनी खेर जान्छ।’
०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौंमा दीपावली भएको पनि थापाले उल्लेख गरेका थिए। ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उनले भने, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए। ३ वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुस् त!’
राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको थापाले बताए। ‘मलाई केबल १५ वर्ष भए पुग्छ भनेर सपना देख्ने बिपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीँ जाँदैनथ्यो,’ थापाले भने, ‘बेलायतमा छ, नेपालमा पनि रहन्थ्यो। तर किन थुनेको बिपीलाई? किन नेपालको ३० वर्ष खेर फालेको? कसको कारणले यो अवस्था आएको?’







