माइतीघरमा युवा सङ्घ र दुर्गा प्रसाईँलाई कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

माइतीघरमा युवा सङ्घ र दुर्गा प्रसाईँलाई कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । मंसिर ७ मा दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा सङ्घको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए । आचार्यले भने–‘माइतीघर मण्डला लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिँड्नुपर्छ, दुवै पक्षसँग समन्वय गरेर हामी नयाँ कार्यक्रम स्थल तोक्छौँ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा सङ्घले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।

दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले बताए । आचार्यले भने–‘आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस