जनता आवास कार्यक्रममार्फत भोजपुरका विपन्न परिवारलाई घर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जनता आवास कार्यक्रममार्फत भोजपुरका विपन्न परिवारलाई घर


३ मंसिर २०८०, आइतबार


भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ ।

आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौँदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्पाहाङले जानकारी दिए ।

एक परिवार बराबर रु। तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्पाहाङको भनाइ छ । गरिब तथा विपन्न दलित परिवारको घर निर्माणले उनीहरूलाई सहजता भएको वडाध्यक्ष माङ्पाहाङले बताए । निर्माण सम्पन्न भएपश्चात् सबै परिवारले भुक्तानीसमेत लिएको उनको भनाइ छ ।

“सरकारको जनता आवास कार्यक्रममार्फत हाम्रो वडाका १० दलित परिवारले नयाँ घर पाएका छन्”, वडाध्यक्ष माङ्पाहाङले भने, “घर बनाउने क्षमता नहुँदा वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएको अवस्था थियो । हामीले आर्थिक अवस्था कमजोर भएकाले घर निर्माणका लागि सिफारिस गरेको हौँ । घर निर्माण सम्पन्न गरेर सबै परिवार भुक्तानीसमेत पाएको अवस्था छ ।”

राज्यबाट आएको बजेटबाट आवश्यक मापदण्डअनुसारको घर निर्माण भएको उनको भनाइ छ । राज्यले पनि गास, बास र कपासलाई नागरिकको मौलिक हकमा राखेकाले सहज बसोबासका लागि वडाले पहल गरेको वडाध्यक्ष माङ्पाहाङले बताए।

“गरिबीका कारण धेरै परिवारको अवस्था दयनीय छ”, उनले भने, “खुला आकासमुनि दिनरात कटाउने अवस्थामा घर पाउँदा उनीहरूको दैनिकी फेरिएको छ ।” सो रकमबाट अनिवार्य रूपमा शौचालय निर्माण गर्नुपर्ने उनको भनाइ छ । शौचालय निर्माण नगर्ने परिवारले रु। ३६ हजार नपाउने वडाध्यक्ष माङपाहाङले बताए । हाल बनेको घरले सबै विपन्न परिवारलाई नसमेटिएकाले आगामी दिनमा पनि घर निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने वडाध्यक्ष माङ्पाहाङले जानकारी दिए ।

खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा घर पाउँदा दैनिकी फेरिएको स्थानीय फूलमाया विश्वकर्माले बताए । घर बनेपछि धेरै सहजता भएको उनको भनाइ छ । “घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ”, उनले भने, “गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्नसक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।”

घर नहुँदा चिसोका कारण दैनिकजसो बाल बच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताए । त्योसँगै बालबालिकालाई पठनपाठनमा समेत सहजता भएको उनको भनाइ छ ।

“हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई रोगबाट जोगाउन नै गाह्रो हुन्थ्यो”, खुसी हुँदै विश्वकर्माले भने, “ढिलै भए पनि राज्यले हाम्रो दुःख देख्यो । मजस्ता धेरै दलित परिवारले घर पाएका छौँ । राज्य हाम्रो सहारा बन्यो ।”

कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर बर्सौँ कटाएको अवस्थामा घर पाउँदा हर्षित बनेको उनको भनाइ छ । “गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ”, उनले भने, “जीवन निकै कष्टकर बनेको थियो । वर्षात् तथा जाडोको समयमा जीवन धेरै नै कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस