गर्भवतीको घरमा निलो झण्डा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गर्भवतीको घरमा निलो झण्डा


२ मंसिर २०८०, शनिबार


सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राखेको छ ।

वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो झण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए। उनीहरूको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए ।

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भ जाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए । सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दसैँ र तिहारका बीचमा निलो झण्डा वितरण गरिएको जनाउँदै ‘गर्भवती पहिचान घर कार्यक्रम’अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उनले बताए ।

“स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हुनेछ । यो अभियानले घरमा सुत्केरी गराउनेको सङ्ख्या घट्ने अनुमान गरेका छौँ”, स्वास्थ्य संयोजक भण्डारीले भने, “पालिकाभित्रका वडा १ देखि ८ सम्म शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका छौँ ।” झण्डाले घर पहिचान हुने र स्वास्थ्यकर्मीलाई पनि घरमै गएर सेवा दिन सहज उनले बताए ।

भण्डारीका अनुसार सिमकोट गाउँपालिका वडा १ मा आठ, २ मा १५, ३ मा दुई, ४ मा चार, ५ मा १६, ६ मा १२, ७ मा २३ र ८ मा ३० जना सुत्केरी गराउनेको सङ्ख्या रहेको छ ।

ग्रामीण भेगमा आर्थिक अभाव, जनचेतनाको कमी, रुढीवादी परम्परालगायत कारणले घरमै सुत्केरी गराउँदा आमा र शिशु दुवैलाई जोखिम हुने भएकाले झन्डामार्फत घर पहिचान गरेपछि स्वास्थ्यकर्मीले विशेष प्राथमिकतामा सेवा प्रदान गर्न सक्ने स्वास्थ्य शाखा संयोजक भण्डारीको भनाइ छ । उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

‘कुपोषण पहिचान घर कार्यक्रम’

हुम्लाको सदरमुकाम सिमिकोटस्थित सिमकोट गाउँपालिकाले पालिकालाई कुपोषण मुक्त बनाउनका लागि ‘कुपोषण पहिचान घर कार्यक्रम’ सुरु गरेको छ । कुपोषित सहजै पत्ता लगाउनका लागि १ देखि ८ नं वडासम्म दुई किसिमका झण्डा राख्ने अभियान गाउँपालिकाको स्वास्थ्य शाखाले सुरु गरेको हो ।

छ महिनादेखि २३ महिनासम्मका बालबालिका बढी कुपोषण हुने भएकाले कुपोषण पहिचान गरी ‘मध्यम शीघ्र कुपोषण’को घरमा पहेँलो र ‘कडा शीघ्र कुपोषण’ भएका बालबालिकाको घरमा रातो झण्डा राख्ने कार्य सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक वसन्ती रावतले जानकारी दिए । उनका अनुसार बालबालिकामा ‘स्क्रिनिङ’ गर्न सुरु गरिएको छ ।

शाखाले १ देखि ८ नं वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १९ जनामा कुपोषण भएको पाइएको सहसंयोजक रावतले जानकारी दिए । गाउँपालिका मातहतका स्वास्थ्य चौकीअन्तर्गतका सबै वडामा गरी १९ बालबालिका कुपोषित रहेको पाइएपछि उनीहरूको घरमा दुई किसिमको झण्डा राखिएको उनले बताए ।

“वडा ३ मा तीन, वडा ६ मा चार, वडा ७ मा चार र वडा ८ मा तीन गरी १४ जनामा शीघ्र कुपोषण भएको पाइएको छ”, उनले भने, “वडा ५ मा एक, वडा ६ मा दुई र वडा ७ मा दुई गरी पाँच जनाका कडा शीघ्र कुपोषण भएको पाइएको छ ।” कुपोषित पहिचानका लागि शीघ्र कुपोषण भएका १४ बालबालिकाको घरमा पहेँलो झण्डा र कडा शीघ्र कुपोषण भएका पाँच बालबालिकाको घरमा रातो झण्डा राखिएको रावतले जानकारी दिए ।

स्वास्थ्य चौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनका लागि अभियान सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व, सर्वोत्तम पिठोलगायत आवश्यक खानेकुरा वितरण गर्नका लागि अभियान सुरु गरेको थियो । योसँगै कुपोषित बालबालिकाका लागि ‘पोषण प्याकेज कार्यक्रम’ सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस