श्यामशिलाको छुर्पी बाह्य बजारमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

श्यामशिलाको छुर्पी बाह्य बजारमा


२ मंसिर २०८०, शनिबार


भोजपुर । भोजपुरको पौवादुङ-१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए ।

‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ’, राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’

आफू स्वरोजगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घरघरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए ।

“यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन”, राईले भने, “मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।” व्यवसायी राईले दैनिक दुई सय ५० देखि तीन सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍यालगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए ।

यी क्षेत्रका एक किसानले मासिक रु. पाँच हजारदेखि ३० हजार हजारसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए । ‘विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ’, उनले भने, ‘दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।’

यहाँका किसानको घर/घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी रु. एक हजार एक सय ५० मा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी रु. सात सय र खरुवा घ्यू प्रतिकेजी रु. एक हजार तीन सयमा बिक्री गर्दै आएको उनकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ ।

आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताए । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘अहिले दूध बिक्रीको लागि सहज अवस्था छ’, उनले भने, ‘फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।’

गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए । किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ । ‘विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो’, वडाध्यक्ष तामाङले भने, ‘तर बिक्री गर्नको लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।’

गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाई १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।’

गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस