भूकम्पबाट मृत्यु भएका परिवारलाई राहत वितरण « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भूकम्पबाट मृत्यु भएका परिवारलाई राहत वितरण


२७ कार्तिक २०८०, सोमबार


त्रिवेणी । जाजरकोट भूकम्पमा परी मृत्यु भएका रुकुमपश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ ।

सानीभेरी गाउँपालिका-६ मा पीडित १० परिवारलाई रू. १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत रू. ५१ लाख गरी रू. ६७ लाख रकम बाँडिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । सानीभेरीबाट सुरु गरिएको नगद वितरण कार्यक्रम आठबीसकोटमा पुगेर समापन भएको थियो ।

उनका अनुसार जिल्लामा ४१ जना मृतक परिवारका सदस्यलाई नगद राहत उपलब्ध गराइएको हो । “अब जिल्लामा कागजात मिलाउन बाँकी रहेका नौ घरपरिवारका १२ मृतकको राहतबापतको रकम वितरण गर्न बाँकी छ । तीमध्ये पाँच जना जिल्ला बाहिरका हुन् । जिल्ला बाहिरकालाई पनि सम्बन्धित जिल्लाबाट प्रक्रिया पुर्‍याएर यहीबाट नगद राहत वितरण गरिने छ”, प्रजिअ पन्तले भने । सङ्घीय सरकारबाट प्राप्त भएको राहत रकम मृतक परिवारलाई बाँडिएको उनले जानकारी दिए ।

सरकारले निर्णय गरे अनुसार प्रत्येक मृतक घरपरिवारलाई रू. दुई लाखका दरले राहत रकम दिएको जनाउँदै एकै घरबाट एक जना भन्दा बढी मृत्यु भएकामा रू. दुई लाखमा थप रू. एक लाख बढाएर उपलब्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए । उनका अनुसार सङ्घीय सरकारले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा रू. पाँच करोड पठाएको थियो ।

“हालसम्म रू. ६७ लाख वितरण गरिएको छ । १२ जनाको राहतबापतको रकम वितरण गर्न बाँकी छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण तथा पुनः स्थापनामा खर्च गरिनेछ”, सहायक प्रजिअ बढुवालले भने ।

गत कात्तिक १७ गते राति गएको भूकम्पमा जिल्लाका ५२ र उपचारका क्रममा एक गरी ५३ जनाको मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस