काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता प्रकाण्ड जाजरकोटको भूकम्प प्रभावित बस्ती नलगाडको चिउरी बस्ती पुगेर पार्टीको भूकम्प पुनर्निर्माण अभियानको उद्घाटन गरेका छन् ।
भुकम्पमा घर भत्केका एकल परिवार कले विकको घर पुनर्निर्माण कार्य प्रारम्भ गरी अभियानको उद्घाटन गरेको पार्टी निकट जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेले बताए ।
पार्टी द्वारा सङ्कलित राहत सामग्री शुक्रबार जाजरकोट सदरमुकाममा जिल्ला विपत् व्यवस्थापन समितिलाई हस्तान्तरण गरी राति अबेर नलगाड पुगेका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले स्थानीय जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरूसँगको छलफल गरेका थिए ।
शनिबार बिहान नलगाड आसपासका भूकम्प पीडितहरू सँग भेटघाट गरेका उनीहरूले विपद्को समयमा जनतासँग आफ्नो पार्टी सँगै भएको बताएका थिए । नालगाड गाउँमा १३ जनाको भुकम्पमा परी मृत्यु भएको छ ।
गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्प पीडित जाजरकोट र रुकुम पश्चिम जिल्लाका नागरिकको लागि राहत तथा उद्वारका लागि नेकपाका झण्डै डेढ सय नेता कार्यकर्ता नियमित राहत वितरण,उद्धार,स्वास्थ्य उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन अभियान नै सञ्चालन गरेर लागेको डुम्रेले जानकारी दिए ।
विप्लव र प्रकाण्ड आईतवार रुकुमका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाने कार्यक्रम रहेको पनि डुम्रेको भनाई छ ।







