अरूको अधिकार हनन् नहुने गरी देउसी भैलो खेल्नु : जिल्ला प्रशासन कार्यालय काठमाडौँ « प्रशासन
Logo ३२ जेष्ठ २०८१, शुक्रबार
   

अरूको अधिकार हनन् नहुने गरी देउसी भैलो खेल्नु : जिल्ला प्रशासन कार्यालय काठमाडौँ


२५ कार्तिक २०८०, शनिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू गर्दा अरूको अधिकार हनन् नहुने गरी गर्न अनुरोध गरेको छ । कार्यालयले यसपटक देउसी भैलो खेल्ने समय सीमा तोकेको छैन ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न गराउनु हुन अनुरोध गरेको हो ।

भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न नगराउन पनि कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयका प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले जारी गरेको सूचनामा भनिएको छ, ‘चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न नगराउन अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस