एन्फा विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एन्फा विशेष साधारण सभा आज, अध्यक्षको बर्खास्ती मुख्य एजेण्डा


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ ।

आज हुने विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती सँग सम्बन्धी निर्णयको छिनोफानो गर्ने बताइएको छ ।

नेम्वाङ वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए ।

उनीहरूले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय सहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।

विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।

नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभाले मतदान गर्नेछ । एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।

एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ अर्थात् कम्तीमा पनि ५८ मत आवश्यक पर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस