‘चितवनमा चिनीको अभाव छैन’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘चितवनमा चिनीको अभाव छैन’


२२ कार्तिक २०८०, बुधबार


चितवन । तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरूमा अनुगमन गरेको छ ।

गृह मन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठुला व्यवसायीको गोदाममा अनुगमन गरेको हो । कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कार्यालयले जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढमा रहेका १४ गोदामको अनुगमन गरेको छ । अनुगमनका क्रममा बजारमा चिनीको अभाव नरहेको पाइएको उनले बताए ।

“अन्य जिल्लामा जस्तो यहाँ चिनीको अभाव छैन”, शर्माले भने, “बजारमा खाद्य वस्तुमा लेबल र उत्पादन मितिसँगै बिक्री मूल्यसमेत टाँसी सामान बिक्रीका लागि राखिएको छ ।” उनका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष बजारमा सुधार आएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजारमा रहेका ठुला गोदामको अनुगमन गरेको थियो । जिल्लामा आवश्यक पर्ने चिनी रहेको भेटिएकाले अहिले खासै समस्या नहुने किराना व्यवसायी सङ्घ चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । उनले भने, “पहिलाको जस्तो खपत नहुने अनुमान गरेका छौँ । अहिलेसम्म त्यस्तो समस्या आएको छैन ।”

पसलेले सङ्घले तोकेको मूल्यमा बिक्री गरिरहेका पौडेलले जानकारी दिए । दसैँको समयमा जिल्लामा चिनीको केही अभाव भए पनि दसैँपछि बिस्तारै सहज हुँदै गएको उनले बताए । तिहारमा बढी मात्रामा मिठाई बनाइने हुँदा चिनीको खपत बढी हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस