कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएर मन्त्रालयमा हाकिम खोज्दै सिम्रौनगढका मेयर  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएर मन्त्रालयमा हाकिम खोज्दै सिम्रौनगढका मेयर 


२२ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कार्यालयमा ताला लागेका कारण बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाजिर नभई काठमाडौँ फर्किएका छन् । उपराष्ट्रपतिको कार्यालयबाट असोज १४ मा सिम्रौनगढमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रन्जितसिंह अधिकारी पालिकामा हाजिर नभई फर्किएका हुन् ।

नगरपालिकामा विगत २० दिनदेखि लागेको ताला नखुल्दा अधिकारी कार्यालयमा हाजिर नै नभई फर्किएका हुन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशासनसँग भने, ‘कार्यालयमा हाजिर हुनका लागि सोमबार गएको थिएँ । कर्मचारी र जनप्रतिनिधिहरूले लगाएको ताला खुल्ने अवस्था बनेन । हाजिर नै नभई फर्किएँ ।’ 

प्रहरी लगाएर पनि ताला खुल्ने अवस्था नभए पछि उनी काठमाडौँ फर्किएका हुन् । उनले यसबारे मन्त्रालयमा रिपोर्टिङ गरिसकेको बताए । तालिममा भएका कारण सोमबार मात्रै उनी पालिका पुगेका थिए ।

चार महिनादेखि नगरपालिका प्रशासनिक नेतृत्व विहीन छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । तलबको माग गर्दै उनीहरूले नगरपालिकामा ताला लगाएका छन् । उनीहरूको आन्दोलनमा डाक्टरहरूले पनि साथ दिएका छन् । 

पालिकामा कर्मचारीले मात्रै होइन, जनप्रतिनिधिहरूले पनि ताला लगाएका छन् । स्रोतका अनुसार पुनः नगर सभाको माग गर्दै जनप्रतिनिधिले ताला लगाएका हुन् । नगर उपप्रमुख, वडाध्यक्ष लगायतका जनप्रतिनिधिले नगर सभा नै अवैधानिक भन्दै आएका छन् । नगरप्रमुख एकातर्फ र अन्य जनप्रतिनिधि अर्कोतर्फ छन् । ‘कर्मचारी र जनप्रतिनिधि दुवैले ताला लगाएका छन्, पालिकामा रमिता छ । पुनः नगर सभा नभएसम्म ताला खुल्ने अवस्था छैन,’ स्रोतले भन्यो ।

पालिकामा लगाएको ताला खुलाउने र कार्यालय पुगेका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने वातावरण बनाउनु सट्टा नगरप्रमुख किशोरीप्रसाद कलवार सिंहदरबारमा नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्दै छन् । अधिकारीको सिम्रौनगढमा काम गर्ने मनाशाय नै नभएको उनको दाबी छ । नगरप्रमुख कलवारले भने, ‘उहाँ काम गर्ने मनाशायले जानु भएको होइन । काँग्रेसका केही वडाध्यक्ष र जनप्रतिनिधिको व्यवहारका कारण फिर्ता हुनु भएछ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेको कलवारको आरोप छ । ‘पालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत छैन । कर्मचारी चाहियो भन्नका लागि म मन्त्रालयमै छु,’ उनले भने, ‘कर्मचारी व्यवस्थापन गर्न नसक्ने मन्त्रालयको के काम ? यो मन्त्रालय किन चाहियो ? मन्त्रीले सचिव देखाउने सचिवले मन्त्री देखाउने काम भइरहेको छ ।’ 

जनप्रतिनिधिको विवादका कारण पालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् । चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा शिक्षक तथा कर्मचारीहरूको तलब रोकिएको छ । पर्वको बेला तलब नपाउँदा कर्मचारी निराश छन् । यसैगरी सामाजिक सुरक्षा भत्ता पनि रोकिएको छ ।

नगरप्रमुख र प्रशासकीय अधिकृतलाई मन्त्रालयले बुधबार बोलाएको छ ।

खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई असहयोग गर्ने र आफू अनुकुलकालाई निमित्त दिन मन्त्रालयमा रडाको मच्चाउने जनप्रतिनिधिहरूको संख्या पनि कम छैन, त्यसैमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिनमै पत्र बनाउने र रद्द गर्नेतिर लाग्दा थप समस्या उत्पन्न भएको छ । राजनीतिक विषयमा खास गरी मन्त्रीले चाँसो लिनु पर्नेमा विवाद समाधानतिर भन्दा सरुवा ध्याउन्नमै लाग्दा माछा बजार बनेको आरोप कर्मचारीहरूले लगाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस