सर्वदलीय बैठकबाट निस्किए माधव, रास्वपा र राप्रपाको पनि छैन सहभागिता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सर्वदलीय बैठकबाट निस्किए माधव, रास्वपा र राप्रपाको पनि छैन सहभागिता


२१ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आमन्त्रणमा बोलाइएको सर्वदलीय बैठकमा सत्तागठबन्धन घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल केही बेरमै निस्किएका छन् ।

सिंहदरवारबाट बाहिरिँदै उनले ठूला राजनीतिक दल र गणतन्त्रविरुद्ध भइरहेका टिप्पणीको प्रतिवाद गरे । ‘जनताको विश्वास प्राप्त गरेको व्यवस्थाको बारेमा कसैले केही भन्दैमा त्यसको पछि लाग्न हुँदैन । दलहरूमा एकता आवश्यकता छ । व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य त्यति उपयुक्त होइन’, नेपालले भने ।

व्यवस्थामा सुधार गरेर अवस्थामा आमूल परिवर्तन ल्याउनुपर्नेमा उनको जोड थियो । उनले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन आफूहरूको अवरोध नभएको बताए । प्रधानमन्त्रीले १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया र संविधान निर्माणमा भूमिका खेलेका दलहरूको सहभागितामा सर्वदलीय बैठक राखेका हुन् ।

पछिल्लो समय संविधान र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिविरुद्ध संगठितरूपमा जनतामा उत्तेजना फैलाउने र यसका नेतृत्वकर्तामाथि लाञ्छना लगाउने क्रम बढेकाले प्रधानमन्त्रीले बैठक डाकेको बताइएको छ ।

दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरूको बैठक भएकाले रास्वपा लगायत नयाँ दल र राप्रपाको भने सहभागिता छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस